आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

सभामुख र निर्वाचन आयोगविरुद्ध कानुनी प्रतिवाद गर्ने एमालेको निर्णय

१० भाद्र, २०७८ १७:५१ मा प्रकाशित

251 पटक पढिएको

oli in press briefing

काठमाडौं – नेकपा एमालेले सभामुख अग्नि सापकोटा र निर्वाचन आयोगविरुद्ध कानुनी प्रतिवाद गर्ने जाने निर्णय गरेको छ। बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले विधान र कानूनअनुसार १४ सांसदलाई एमालेले कारवाही गरेपनि सभामुख सापकोटाले सूचना टाँस नगरेको र निर्वाचन आयोगले कारबाही गरेकालाई सनाखत गराएकाले कानूनी उपचारमा जाने निर्णय गरेको सचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

सभामुखले सांसद कारवाहीको पत्र रोकेर गम्भीर गल्ती गरेको ज्ञवालीले दाबी गरे। ‘सभामुखको भूमिका पदीय आचरणसम्मत कुरा भएन।’उनले अगाडि भने‘पार्टीले कारवाही गरेका व्यक्तिलाई निर्वाचन आयोगबाट सनाखत गराउने गलत काम भएका छन्, यसको कानूनी प्रतिवाद गर्छौं।’

दल विभाजनका लागि सहयोगी बन्दै नयाँ दल दर्ताका लागि सनाखत गराएको भन्दै निर्वाचन आयोगको भूमिकाप्रति एमालेले प्रश्न उठाएको हो। उनले संविधानमा भएको व्यवस्था विपरीत स्थानीय र प्रदेशका जनप्रतिनिधिले दल त्याग गर्न पाउने व्यवस्थाविरुद्ध एमाले अदालत जाने निर्णय गरेको बताए। उनले भने,‘स्थानीय तहका पदाधिकारीले दल त्याग गर्न पाउने निर्णयको कानूनी उपचार खोज्छौं, यो संविधानको भावना विपरीतको व्यवस्था हो।’

सरकारले जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेशमा पार्टी विभाजन भएको २१ दिनभित्र प्रदेश र स्थानीय तहका निर्वाचित पदाधिकारीले दल रोज्न पाउने व्यवस्थाविरुद्ध अदालत जान लागेको हो। एमाले पार्टी विवाद समाधान गर्न भएको १० बुँदे सहमतिको तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको उनले बताए। पार्टी एकताको मर्मलाई ध्यान दिँदै जनवर्गीय संगठनलाई जेठ २ अघिको अवस्थाबाट क्रियाशील बनाउन चार सदस्यीय कार्यदल गठन गरेको ज्ञवालीले जानकारी दिए। उनका अनुसार महासचिव ईश्वर पोखरेल नेतृत्वको कार्यदलमा उपमहासचिव विष्णु पौडेल, सचिव गोकर्ण विष्ट र टोपबहादुर रायमाझी रहेका छन्।

बैठकले पार्टी विभाजन गरेर (एकीकृत समाजवादी) मा गएका नेताहरूलाई पार्टीबाट निष्कासन गरेको छ। पार्टी निष्कासन गर्ने र उनीहरुको नाम अभिलेखबाट हटाउन निवार्चन आयोगलाई जानकारी गराउने निर्णय भएको छ।

फुट रोक्न नसक्दा दुःख

एमाले अध्यक्ष केपी ओलीले पार्टी एकता बचाउने आफ्नो कोसिस असफल भएको भन्दै दुःख व्यक्त गरेका छन्। बुधबार पत्रकार सम्मेलन गरी ओलीले नयाँ पार्टी गठन प्रक्रियामा लागेका वरिष्ठ नेता माधव नेपाल र सभामुख अग्नि सापकोटाप्रति आक्रोश पोखे। ‘पार्टी प्रमुख भएकाले मैले बचाउने कोसिस गर्दागर्दै पनि पार्टी बचाउन नसकेकोमा दुःखी छु,’ ओलीले भने।

नेताहरूलाई रिसोर्टमा थुनेर नयाँ पार्टी गठनका लागि सनाखत गर्न लगाइएको ओलीले आरोप लगाए। एमाले नेताहरूलाई बलजफ्ती रिसोर्टमा लगेर बन्धक बनाएको ओलीले आरोप लगाए। ‘बैठक भनेको एक लेभलको हुन्छ, ओलीले भने, ‘साधारण सदस्यदेखि आफूलाई अध्यक्ष भनेको मान्छेसमेत भएको कस्तो बैठक हो ?’

घेराबन्दी गरेर घर–घरबाट कार्यकर्ता रिसोर्टमा लगेर राखेको ओलीको आरोप छ। ओलीले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाए। नेकपा एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै ओली सभामुखमाथि खनिएका थिए। ‘लेखराज भट्टजीहरूलाई कारबाही गर्दा माओवादीको केन्द्रीय कमिटीले निर्णय गरेको होइन,’ उनले भने, ‘नेकपा एमालेले गरेको कारबाही ९ दिनसम्म थन्क्याएर दाँत टाल्न जानुभयो। मेरो शुभकामना छ, दाँत राम्रोसँग टालियोस्।’ सभामुख सापकोटा निष्पक्ष हुन नसकेको उनको आरोप थियो।

प्रवक्तामा भट्टराई

एमालेले पार्टी सचिव योगेश भट्टराईलाई प्रवक्ता तोकेको छ। जेठ २ अघि भट्टराई प्रचार विभाग प्रमुख एवं प्रवक्ता थिए। २०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई नेकपा बनेपछि उनी प्रवक्ताको जिम्मेवारीबाट हटेका थिए। सर्वोच्चको फैसलाअनुसार नेकपा एकता भंग भई एमाले र माओवादी केन्द्र छुट्टिएपछि प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकिएको थियो। विगतमा वरिष्ठ नेता माधव नेपाल पक्षधर भट्टराईसहितका नेताहरू पुनः पार्टीमै फर्केपछि जेठ २ अघिकै जिम्मेवारी र पद फर्काइएको हो।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome