आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

गण्डकीका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक : कसैसँग करोडौंको नगद मौज्दात, कसैको करोडौंको ऋण

१० भाद्र, २०७८ १८:०१ मा प्रकाशित

751 पटक पढिएको

gandaki province

काठमाडौं – गण्डकी प्रदेशका २ जनाबाहेक ९ जना मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक भएको छ। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितका ७ जना मन्त्रीहरुले आफूहरु ऋणमा रहेको विवरण दिएका छन्। पोखरेलले २५ लाख रुपैयाँ ऋण लागेको विवरणमा उल्लेख गरेका छन्। १ जना मन्त्रीले भने अरुलाई ऋण दिएको जनाएका छन्।

पोखरेलले काठमाडौं, तनहुँ, नवलपुरमा जग्गा भएको विवरण पेस गरेका छन्। कतिपय जग्गा पुर्ख्यौली सम्पतिबाट आएको उल्लेख गरेका उनले जग्गा किन्न बैंकबाट ऋण लिएको पनि जनाएका छन्। उनले कृषि विकास बैंकबाट २५ लाख रुपैयाँ ऋण लिएका हुन्। उनीजस्तै अरु मन्त्रीहरुले पनि जग्गा किन्न र उद्योग व्यवसायका लागि ऋण लिएको सम्पत्ति विवरणमा उल्लेख छ।

कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापाले विभिन्न बैंकबाट ३० करोड रुपैयाँभन्दा बढी ऋण लिएको उल्लेख गरेका छन्। उनको नाममा बैंकहरुमा नगद १० करोड रुपैयाँ पनि छ। उद्योगी व्यवसायीसमेत रहेको मन्त्री थापाले उद्योग व्यवसायकै सन्दर्भमा बैंकहरुबाट ऋण लिएका हुन्। उनी र उनका २ श्रीमती राधा र मनलक्ष्मी थापाका नाममा पोखरा दर्जनभन्दा बढी ठाउँमा जग्गा छ। तीमध्ये कतिपयमा घर तथा होटल छ। ९० तोला सुन, ५० तोला चाँदी र १५ तोला हीरा सम्पत्ति रहेको थापाको विवरणमा उल्लेख छ। मन्त्री थापाले होटल, ट्रेड मल लगायतमा रहेको लगानी पनि सम्पत्ति विवरणमा समावेश गरेका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेबसाइटमा मन्त्रीहरुको सम्पत्ति विवरण मंगलबार सार्वजनिक गरिएको हो। यो विवरण राष्ट्रिय सतर्कता केन्द्रमा समेत पठाइएको उल्लेख छ। गण्डकी प्रदेश सरकारको आचारसंहितामा मन्त्री भएको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने उल्लेख छ। सार्वजनिक पद धारण गरेका व्यक्तिले हरेक वर्ष सम्पत्ति विवरण बुझाउनुपर्ने भ्रष्टाचार निवारण ऐन २०५९ मा प्रावधान छ। युवा तथा खेलकुद मन्त्री दीपक मनाङे भनिने राजीव गुरुङ र कृषिमन्त्री चन्द्रबहादुर बुढाले सम्पत्ति विवरण उपलब्ध गराएका छैनन्।

शिक्षा मन्त्री मेखलाल श्रेष्ठसँग ७ करोड ९० लाख रुपैयाँ ऋण छ। उनले १५ लाख रुपैयाँ नगद रहेको सम्पति विवरण पेस गरेका छन्। उनले आफूसँग १ किलो सुन भएको पनि उल्लेख गरेका छन्। उनका काठमाडौं र स्याङ्जाका ६ ठाउँमा जग्गा छ। पर्यटनमन्त्री मणिभद्र शर्मा कँडेलसँग २ करोड ६७ लाख रुपैयाँ ऋण छ। उनको बागलुङमा ४८ लाख ५० हजारमा किनेको घर छ। बागलुङ, चितवन र रुपन्देहीमा जग्गा भएका उनील २५ तोला सुन लगायत सम्पत्ति रहेको विवरण पेस गरेका छन्।

अर्थमन्त्री रामजी बरालसँग १ करोड रुपैयाँ ऋण छ। उनको एभरेस्ट बैंकमा ३ लाख नगद छ। पोखराका २ ठाउँमा उनको जग्गा छ। वन तथा वातावरण मन्त्री दीपक थापा मगरसँग साढे ६१ लाख रुपैयाँ ऋण छ। स्याङ्जा र पोखरामा जग्गा भएका उनले ३० तोला सुन रहेको पनि जनाएका छन्।

ऊर्जा तथा सिँचाइ मन्त्री हरिशरण आचार्यसँग ४० लाख रुपैयाँ ऋण छ। ५० लाख रुपैयाँ ऋण लिएकोमा १० लाख तिरिसकेको उनले उल्लेख गरेका छन्। उनीसँग ८ तोला सुन र गोरखामा अमूल फर्निचर उद्योग छ। पुर्ख्यौली घरजग्गा गोरखामा उनका बुवाको नाममा छ।

भौतिक मन्त्री कुमार खड्काले भने ८५ लाख रुपैयाँ अरुलाई नै ऋण दिएको उल्लेख गरेका छन्। उनको पोखरामा घरजग्गा छ। श्रीमती कल्पनाका नाममा १ करोड रुपैयाँभन्दा बढी नगद छ भने सुन ९५ तोला सुन छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङले सहिद परिवार स्वरुप पाएको राहत रकमबाट चितवन र मकवानपुरमा जग्गा किनेकी छन्। उनको लमजुङ दूधपोखरीमा पनि घर छ। उनी ३ तोला सुन र ८ लाख ६० हजार नगदकी धनी छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome